पहिलो टेस्टमा घरेलु टोली भारतमाथि इंग्ल्याण्डको जित

एजेन्सी । घरेलु टोली भारतविरुद्ध भएको पहिलो टेस्टमा इंग्ल्याण्ड विजयी भएको छ । आइतबार भएको पहिलो टेस्टको चौथो दिन इंग्ल्याण्डले भारतलाई २८ रनले हराएको हो ।

जितको लागि २ सय ३१ रनको लक्ष्य पाएको भारत ६९.२ ओभरमा अलआउट हुँदै २ सय २ रनमा समेटिएको हो । भारतको लागि कप्तान रोहित शर्माले ३९ रन बनाउँदा श्रीकर भारत र रविचन्द्रन आश्विनले समान २८/२८ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्याण्डको लागि टोम हार्तलीले २६.२ ओभरमा ५ मेडन राख्दै ६२ रन दिएर ७ विकेट लिंदा जोए रुट र ज्याक लिचले समान एक-एक विकेट लिए ।

यसअघि हैदराबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको इंग्ल्याण्डले ६४.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो । इंग्ल्याण्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ७० रन बनाउँदा जोनी बैर्स्ट्रोले ३७, बेन डकेटले ३५, जोए रुटले २९ र टोम हार्थलीले २३ रन जोडेका थिए ।

भारतको लागि रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन/तीन विकेट लिंदा जस्प्रित बुम्रा र अक्सर पटेललेपनि दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले १ सय २१ ओभरमा अलआउट हुँदै ४ सय ३६ रन बनाएको थियो । भारतको लागि रविन्द्र जेडेजाले ८७, केएल राहुलले ८६ र यशस्वी जैसवालले ८० रनको योगदान गरे ।

इंग्ल्याण्डको लागि जोए रुटले चार तथा टोम हार्थी र रेहान अहमदले समान दुई/दुई विकेट लिंदा ज्याक लिचले एक विकेट लिए ।

दोस्रो पारी शुरु गर्दा १ सय ९० रनले पछि परेको इंग्ल्याण्डले १ सय २ दसमलब १ ओभरमा ४ सय २० रन बनाएको थियो । इंग्ल्याण्डको लागि ओली पोपले १ सय ९६ रन बनाएका थिए । यस्तै बेन डकेटले ४७ तथा बेन फोकस र टोम हार्तलीले समान ३४/३४ रन बनाएका थिए ।

भारतको लागि जस्प्रित बुम्राले चार, रविचन्द्रन आश्विनले तीन रविन्द्र जडेजाले दुई र अक्सर पटेलले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *