अध्यागमनका कर्मचारीमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न ट्रेड युनियनको तीन दिने अल्टिमेटम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि भएको आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने । विभिन्न पाँचवटा ट्रेड युनियनले चेतावनी दिएका छन् ।

आइतबार संयुक्त विज्ञप्तिमार्फत उनीहरूले घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौँ ।’

गृहमन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको विज्ञप्तिमा उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय, काठमाडौंका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानसहितका कर्मचारीमाथि कुटपिट भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *