बाँकेमा सहकारीको रकम अपचलन मुद्दामा दोषी ठहर १९ जनालाई सजाय निर्धारण, एकवर्षदेखि पाँचवर्षसम्म कैद

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई कसुर/सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।

बिहीबार जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरूबाट बिगो पनि भराउने आदेश जारी गरेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराइ पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गर्ने आदेश दिएको छ। सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख नौ सय ५९ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले बताए।

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार दुई सय ९५ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ। लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार सात सय २५ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ।

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार चार सय ५४ बिगो, ५० हजार रूपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरेको छ। गौरवकुमार श्रेष्ठबाट एक लाख २९ हजार चार सय ९१ बिगो भराउन, ४० हजार रूपैयाँ जरिवाना गर्न र चार वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए।

Laxmi bank
त्यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार दुई सय ७४ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार छ सय ५२ बिगो, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार छ सय ८१ रूपैयाँ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना गर्ने अदालतले आदेश गरेको छ।

भट्टराईका अनुसार सहकारी संस्थाका पूर्वअध्यक्षहरू सिद्धिकुमार महर्जनलाई दुई वर्ष छ महिना कैद, पाँचहजार जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच/पाँच वर्ष कैद र ५०/५० हजार रूपैयाँ जरिवाना गर्ने आदेश दिएको छ।

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ। सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको आदेश दिएको छ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुसी तुल्याएको बताए। उनले भने, ‘अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुन सक्छ।’

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो। ४३ करोड घोटालामा अन्यले सफाइ पाएका छन्। सातजना अहिले पनि कारागारमा रहेका छन्। अरू धरौटीमा छुटेका थिए।

११ हजार आठ सय चारजना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए। त्यसयता पीडित निरन्तर सडकमा रहेका छन् । सहकारीमा ठगिएका एक दर्जन पीडितको यो बीचमा मृत्यु भइसकेको छ।

जिल्ला अदालतले सहकारी संस्थाका सञ्चालक समिति विघटन गर्न आदेश यसअघि नै दिइसकेको छ । बचतकर्ताहरुले जम्मा गरेको करिब रु ३८ करोड हिनामिना भएपछि नेपालगञ्जको सहकारी वृत्ति विकास संस्था २०७६ असोजदेखि बन्द रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *