बम्जनलाई थुनामा पठाउने आदेश

सर्लाही । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

बुधबार राति उनलाई सर्लाही ल्याइएको थियो । सर्लाहीमा ल्याएपछि उनलाई बिहीबारै अदालतमा पेस गरिएको हो । बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो।

बम्जनमाथि आफ्नो आश्रममा रहेका बालिकाहरूमाथि बाल यौन शोषण गरेको आरोप छ। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

बम्जनविरुद्ध अर्को मुद्दा पनि बारा छ। बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। बम्जनले बयानमा आफू तपस्वी भएको र बाहिरी संसारबारे केही थाहा नभएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *