काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो । करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो ।
यसअघि अदातले पीडितलाई बालिग ठहर गरेको थियो । गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने आदेश भएको हो । पुस १३ गते इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो ।
तर सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।
बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्युनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे ।
अधिवक्ता घिमिरेले सो सम्बन्धि सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे ।