खेलाडी र खेल सङ्घको वर्गीकरण गर्दैछौँ : खेलकुदमन्त्री डिगबहादुर लिम्बु

अन्नपूर्ण । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताएका छन् ।

पोखरा रङ्शालामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको वर्गीकरण गरेर सेवा सुविधा दिने बताएका हुन् ।

“अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीको वर्गीकरण गरेर तलब भत्ताको सुविधा दिने गरी काम भइरहेको छ”, उनले भने, “यसैगरी खेल सङ्घको पनि वर्गीकरण गरेर सङ्घको प्रव्द्धनका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।”

खेलाडीले खेल जितेर आउँदा पाउने सुविधा र पुरस्कार १५ दिनभित्र प्राप्त गर्ने वातावरण मिलाएको पनि मन्त्री लिम्बूले बताए । “खेलाडीले पाउने सुविधा र पुरस्कार नपाएको समस्या सबैलाई थाहा छ”, उनले भने, “यसमा निकै मेहिनत गरेर यसलाई संशोधन गरी एक हप्तादेखि १५ भित्र खेलाडीको खातामा उसले पाउने पुरस्कारको रकम जान्छ ।”

मन्त्री लिम्बुले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताए । केही समय अघि कर्णालीको सुर्खेतमा निर्माण भइरहेको भौतिक संरचनाको अध्ययन अवलोकन गरेर फर्किएको मन्त्री लिम्बुले बताए । “आगामी २०८१ मङ्सिर २ देखि दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनेर निर्णय भइसकेको छ,” मन्त्री लिम्बुले भए, “सरकार मिति सार्ने मनस्थितीमा छैन् । सबै मिलेर अघि बढ्न जरुरी छ ।”

क्रिकेटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री लिम्बुले भने, “अहिले सरकारले क्रिकेटलाई ‘हाई प्राइरोरीटी’ मा राखेको छ । हरेक प्रदेशमा एक राष्ट्रिय गौरवको क्रिकेट रङ्गशाला निर्माणको कार्य अघि बढाएका छौँ ।” पहिलो चरणमा विराटनगर, मूलपानी र चितवनलाई राष्ट्रिय गौरवको क्रिकेट रङ्गशाला निर्माणका लागि घोषणा गरिसकेकाले ती ठाउँका काम सकेर अरु प्रदेशमा चरणबद्ध रुपमा निर्माणको प्रक्रिया अघि बढाउने उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *