मानव तस्करीको आशंका गरिएको विमान फ्रान्सबाट मुम्बई फिर्ता

मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमानले भारतको मुम्बई अवतरण गरेको छ । यूएईबाट निकारागुआका लागि उडेको चार्टर्ड एअरबस ए३४० इन्धन भर्न फ्रान्समा रोकिएको थियो । त्यति बेला उक्त विमानमा सवार ३०३ यात्रु भारतीय नागरिक भएको बताइएको छ ।

उक्त विमान २७६ यात्रु लिएर भारतका लागि उडेको थियो । दुई नाबालिगसहित २५ जना शरणका लागि आवेदन दिएर फ्रान्समै बसेका छन् । उनीहरूलाई अवैध रूपमा विदेशी नागरिकहरूलाई फ्रान्स ल्याउने षड्यन्त्र गरेको अभियोग लाग्न सक्ने ठानिएको थियो । तर अदालतको आदेशपछि उनीहरू रिहा भएका छन् ।

लेजन्ड एअरलाइन्सको उक्त विमान स्थानीय समयानुसार मङ्गलबार बिहान सबेरै मुम्बईमा ओर्लिएको छ । यसअघि उक्त विमानलाई श्यालोङ–भ्याट्री विमानस्थल छोड्न रोक लगाइएको थियो ।

बिहीबार उक्त विमानमा ‘तस्करीमा पर्न लागेका मानिसहरू भएको हुन सक्ने सुराक अधिकारीहरूले अज्ञात व्यक्तिबाट पाएको सरकारी अभियोजनकर्ताहरूले बताएका छन् । विमानमा भएका अधिकांश मानिसहरू यूएईमा कार्यरत भारतीय नागरिक भएको बताइएको छ । तीमध्ये एकतिहाइ भारतको गुजरात राज्यका बासिन्दा हुन् ।

फ्रान्समा मानव बेचबिखनमा संलग्न भएको प्रमाणित भए २० वर्ष जेल सजाय हुने व्यवस्था छ । फ्रान्सेली अधिकारीहरूले विमानमा सवार मानिसहरू संयुक्त राज्य अमेरिका वा क्यानडा छिर्ने प्रयास गर्न निकारागुआ जान लागेको आशङ्का गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *