पुरानादेखि नयाँ सबै नेतासँग जनता रुष्ट

काठमाडौं । २०६९ साल मंसिर १ गते भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बागलुङका पदम कुँवरले थप्पड हाने । बागलुङ राजकुत–२ का कुँवरले प्रचण्डले १० वर्षे जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेकाले थप्पड हानेको बताएका थिए । प्रचण्डले आफूलाई झापड हान्ने युवकलाई माफ गरेको बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने उनलाई २८ हजार धरौटीमा रिहा गरेको थियो । त्यसपछि कुँवरले प्रचण्डले नै उम्मेद्वारी दिएको काठमाडौ क्षेत्र नम्बर १० बाट उम्मेद्वारी पनि दिए ।

त्यसपछि २०७६ फागुन १८ गते प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भयो । तर उनलाई लागेन । एमाले नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । उनलाई जुम्लाका २२ वर्षीया रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । उनले प्रचण्डको ‘भाषणमा चित्त नबुझेर आवेशमा आएर जुत्ता हानेको बताए । उनले भनेका थिए, ‘व्यवहार र बोलीमा एकरुपता देखिएन ।’

२०६७ माघ ७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि हातपात भएको थियो । सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका थिए ।

त्यस्तै २०६९ असोज १३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गरे । काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका प्रवेश बस्नेतले कोइरालामाथि कुर्सी प्रहार गरेका थिए । कुर्सीले लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चोट पनि लागेको थियो ।

त्यसैगरी माधवकुमार नेपाललाई पहिलो संविधानसभा निर्वाचनमा पराजित गरेर चर्चामा आएका माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई २०६८ वैशाख १९ मा तीनकुनेको एक चिया पसलमा झापड हानिएको थियो ।

त्यस्तै २०६५ जेठ १५ मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् ।

२०७४ चैत २ गते पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार भयो । नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा पक्की पुलको शिलान्यास कार्यक्रममा महतलाई पानीको बोतल प्रहार भएको थियो । बोतल प्रहार दुप्चेश्वर–३ का रामहरि खड्काले गरेका थिए ।

गत भदौ २० गते नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो भृकुटीमण्डपमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा उनको टाउकोमा नुवाकोटका श्याम सापकोटाले खुकुरी हानेका थिए । सापकोटको माग एमसीसी खारेजी र राजसंस्था पुनस्र्थापना थियो ।

मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मंसिर २८ गते महालक्ष्मी–५ धनकुटाका महेश राईले हातपात प्रयास गरे । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ । लमजुङको राइनास गाउँपालिकाका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका हुन् । रविमाथिको आक्रमणलाई कतिपयले सहकारीसँग जोडेर हेर्नुपर्ने बताएका छन् । तर रविले त्यसलाई अस्वीकार गरेका छन् ।
प्रचण्डदेखि रवि लामिछानेसम्म आइपुग्दा कहीँ न कहीँ जनताको आक्रोश नै यसको कारण बुझ्न सकिन्छ । राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश आक्रमणमा बदलिन थाल्नु पक्कै राम्रो होइन । दैनिक हजारौं युवा रोजगारीका लागि विदेशिनु परेको भन्दै राजनीतिक दलहरुप्रतिको जनताको आक्रोश बढ्दै छ । तर नेताहरुले आफ्ना रोटी सेकाउन अनेकन आश्वासन दिँदै हिँड्ने तर आश्वासन पूरा गर्नेतर्फ ध्यान दिएको पाइँदैन । त्यसैको परिणाम हो झापड र जुत्ता प्रहारका श्रृंखला । त्यसैले नेताहरुले भाषण मात्र होइन जनताको अवस्था परिवर्तनका लागि काम गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *