राष्ट्रसंघ महासभाबाट गाजामा तत्काल युद्धविरामको प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघको महासभाको आपतकालीन बैठकमा गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव पारित भएको छ ।

१५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे समावेश छन् ।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन् ।
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *