तुलसी सहकारीका संचालक केदारनाथ शर्मा जेल चलान

विराटनगर । बचतकर्ताको रकम ठगी गरेर फरार भएको आरोप लागेका विराटनगरको तुलसी सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश राजेश्वर अर्यालको इजलासले सहकारीका अध्यक्ष शर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । प्रहरीले उनलाई काठमाडौंबाट बिहीबार राति विराटनगर ल्याएको थियो ।

प्रहरीले बुझाएपछि अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । मोरङ अदालतले थुनामा राख्न आदेश दिएपनि सहकारीको रकम हिनामिना मुद्दाका प्रतिवादी शर्मालाई कैलाली जिल्ला अदालत धनगढी उपस्थित गराउने तयारी छ । त्यहाँ पनि उनीविरुद्ध अर्को मुद्दा छ । कैलालीपछि उनलाई दाङ लगिनेछ । शर्माविरुद्ध १९ जिल्लामा मुद्दा चलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सहकारी सञ्चालनका नाममा उनले बचतकर्ताको रकम अपचलन गरेको खुलेको छ । विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी सहकारी भने २०७९ फागुन १ गतेदेखि बन्द छ।

सहकारी ठगी मुद्दाका अन्य प्रतिवादीहरू तुलसी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २०७९ चैत २४ गते पुर्पक्षका लागि थुनामा राख्न मोरङ अदालतले आदेश दिएको थियो । सचिव न्यौपाने सहकारीका अध्यक्ष शर्माकी पत्नी हुन् । सहकारीमा संकट आएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *