प्रमुख दलले नै किन दिए दुर्गा प्रसाईंको अभियानलाई महत्व ?

काठमाडौं । तिहार अघि प्रधानमन्त्रीले १२ बुँदे सम्झौतामा सहभागी दलको सर्वदलीय बैठक बोलाए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी थिए । जाजरकोट र रुकुम पश्चिम भूकम्पले तहसनहस भएका बेला व्यवस्था जोगाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेको भन्दै विपक्षी मात्र नभई सत्तारुढ दलका नेताबाटै बैठकको आलोचना भयो । कांग्रेस महामन्त्री गगन थापाले त कोठे बैठक नराख्न र सबै दलका शीर्ष नेतालाई राजनीतिबाट विश्राम लिन सुझाव दिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प पीडितलाई त्रिपाल र ब्लाङ्केट पुर्याउन र यतिबेला व्यवस्था खतरामा पर्यो भनेर सर्वदलीय बैठक गर्नुको कुनै तुक नभएको बताए । उनले त व्यवस्था अरुबाट नभई ठूला भनिएका दलका शीर्ष नेताबाटै खतरा रहेको आरोप लगाए । तर प्रधानमन्त्रीले बैठक व्यवस्था खतरामा पर्न लागेको भनेर दलहरुसँग छलफल गर्नका लागि बोलाइएको भनेर नबुझ्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले व्यवस्थाप्रति खतरा नभएको बताएपनि संविधानविरुद्ध षड्यन्त्र भइरहेको र सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको बताउँदै आएका छन् ।

खासमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते अहिलेको व्यवस्थाविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले दलहरुको धारणा बुझ्न बैठक बोलाएका हुन् । यसबारेमा शीर्ष नेताहरुले मुख नखोलेपनि उनीहरुबीच सामाजिक संजालले पारेको अप्ठ्यारो र व्यवस्थाविरुद्ध देखिएको जनआक्रोसका बारेमा छलफल भएको थियो । यही छलफलपछि सरकारले टिकटक बन्द गर्ने निर्णय नै गर्यो । यसबाट बुझ्न सकिन्छ कि टिकटक दलका शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको थियो । नेताहरुले अहिलेको व्यवस्था विरुद्ध कतैबाट खतरा नभएको बताएपनि मंसिर ७ गर्ने दुर्गा प्रसाईंले गर्ने भनिएको प्रदर्शनबाट भने सरकार नै त्रसित देखिएको छ । जुनकुरा प्रधानमन्त्री प्रचण्डले शुक्रबार तनहुँमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । प्रधानमन्त्रीले आफूले सुरक्षा निकायका प्रमुखसँग शान्ति सुरक्षाकाबारेमा छलफल गरेको र सुरक्षा खतरा नभएको बताएका थिए ।

मंसिर ७ गते दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्ने र त्यसविरुद्ध नेकपा एमालेको युवा संघले पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।जसरी प्रसाईंको अभियानलाई प्रधानमन्त्रीले महत्व दिएर अभिव्यक्ति दिएका छन् एमालेले पनि त्यस्तै महत्व दिएको छ । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने बताए । अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरेका छन् ।

प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो । उनले गणतन्त्र फालेर राजसंस्था पुनःस्थापना गर्ने अनि नेताहरुलाई जेल हाल्ने बताएका छन् । जसरी प्रसाईंले आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् दलका नेताहरुले उसैगरी उनको आन्दोलन लक्षित गरी दिएका अभिव्यक्तिले प्रसाईंले गर्ने भनेको आन्दोलनलाई बल पुगेको देखिन्छ । विवादित व्यक्तिले घोषणा गरेको आन्दोलनले के व्यवस्थामाथि नै खतरा उत्पन्न भएको हो त ? व्यवस्थामाथि नै खतरा आएको जसरी भएको सर्वदलीय बैठक अनि दलका नेताका अभिव्यक्तिले प्रसाईंलाई नै थप उत्साहित बनाएको छ । सामाजिक संजालमा डा. समीरमणी दीक्षित लेख्छन्, ‘गणतन्त्र ल्यायौं भन्नेहरु एकजना व्यवसायीले सडकमा राजा र नागरिक दुबैलाई उतार्छु भन्दैगर्दा के साह्रो आत्तिएका । कति कमजोर यिनीहरूको आत्मविश्वास । आम नागरिकको साथ अब यिनीहरूसँग छैन कि भन्ने प्रश्न बल्ल मनमा उब्जिएछ जस्तो छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *