भारतको केरलामा निपा भाइरसबाट दुई जनाको मृत्यु

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना विरामीको मृत्यु भएको हो ।

एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन भएको थियो भने अर्काको त्यस अघि नै । एक जना मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने ‘जुनोटिक बिमारी’ हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ ।

यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ । यो भाइरस सङ्क्रमण भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् तर कसैमा भने सघन श्वास प्रश्वास समस्या देखा पर्छ ।

गम्भीर अवस्थामा सङ्क्रमण हुँदा ‘फीटल इन्सेफलाइटिस’ हुन्छ जुन मस्तिष्कलाई प्रभावित गर्ने एक गम्भीर स्वास्थ्य अवस्था हो । यो भाइरस सरेका विरामीहरूमा मृत्यु दर उच्च हुन्छ किनभने यो सङ्क्रमणको उपचार गर्न औषधि या खोप उपलब्ध छैन ।

उपचार गर्ने भनेको लक्षणहरू हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो । कोजिकोडेमा सन् २०१८ मा पहिलो पटक घातक निपा भाइरस सङ्क्रमणको प्रकोप भएको थियो । त्यसबेला १८ जना पुष्टि भएका सङ्क्रमितमध्ये १७ जनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा एर्नाकुलम जिल्लामा एउटा निपा भाइरस सङ्क्रमण केस फेला परेको थियो र उनी पछि सङ्क्रमणमुक्त भएका थिए। तर सन् २०२१ मा छठमङ्गलम गाउँका एक जना १२ वर्षीय सङ्क्रमित बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *