गेशे थुब्तेन शेराबको ‘नेपालका बौद्ध तीर्थस्थलहरू’ सार्वजनिक

काठमाडाैँ । लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्वारा लिखित “नेपालका बौद्ध तीर्थस्थलहरू” नामक पुस्तक काठमाडाैँमा विमोचन गरिएकाे छ ।

बौद्ध जागरण केन्द्रको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीले साे पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूपा, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरेको गरिएकाे छ । त्यसैगरी काठमाडौँ, पाटन र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा विस्तृत रूपमा जानकारी दिइएकाे छ ।

कार्यक्रममा मन्त्री किराँतीले नेपालमा थुप्रै पुरातात्त्विक बौद्ध तीर्थस्थलहरू रहेको उल्लेख गर्दै यस्ता धार्मिक तीर्थस्थलहरूको खोजी हुनु प्रशंसनीय कार्य भएको बताए । मन्त्री किराँतीले नेपालका बौद्ध तीर्थस्थलहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनको हिसाबले अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुमन्तराज न्यौपाने र इन्टनेशनल बुद्धिष्ट एकाडेमीका धर्मगुरु खेन्पो ङवाङ ज्योरर्देनले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए ।

खेन रिन्पोछे घ्युर्मे छुल्ठिम, प्रा.डा. सुर्वणलाल बज्राचार्य र राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पालगायत ले बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू जानकारी लिन पुस्तक ज्यादै उपयाेगी हुने बताए ।

नेपालका बौद्ध तीर्थस्थलहरू (आलोक प्रदीप) काे पहिलाे भागकाे रूपमा साे किताब अनुसन्धान केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी र नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले प्रकाशनमा ल्याएको हो । त्यसैगरी पुस्तकको सहसम्पादन आचार्य तेन्जिन लामाले गरेका हुन् ।

पुस्तकको नेपाली अनुवाद बुद्धवचन अनुवाद समितिले गरेका हाे । नेपाली भाषा सम्पादन सुमन्तराज न्यौपाने र लक्ष्मी रुम्बाले संयुक्तरूपमा गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *