काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ मा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको उक्त भवनको उद्घाटन आइतबार नेपालका लागि भारतीय राजदूत नविक श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले संयुक्त रूपमा गरेका हुन् ।
चार वटा ब्लक तथा अन्य सम्बद्ध संरचनासहितको दुईतले छात्रावास भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको परियोजनाअन्तर्गत निर्माण गरिएको हो। विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको पाठ्यक्रम सञ्चालन गर्दै आएको छ भने स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
उद्घाटन कार्यक्रममा राजदूत श्रीवास्तवले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षलाई बधाई दिँदै साझा विकास र समृद्धिका लागि नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य जारी रहने बताए। कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यालयको आवासीय सुविधा र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
भारतीय दूतावासका अनुसार एचआईसीडीपी कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना अघि बढाइएका छन्। तीमध्ये गण्डकी प्रदेशमा ६३ र मुस्ताङ जिल्लामा मात्रै १८ परियोजना सञ्चालनमा रहेका छन्।
त्यसैगरी भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङका विभिन्न संस्थालाई ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस उपलब्ध गराएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा विद्यालय बस प्रदान गरिएको दूतावासले जनाएको छ।
भारतीय दूतावासले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई थप मजबुत बनाउन यस्ता विकास परियोजनाले स्थानीय पूर्वाधार विकास, शिक्षा र सामुदायिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
