म्याग्दीमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ मा पर्ने जलजला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन थालिएको जानकारी दिए।

“मुदीबाट बुधबार गुर्जातर्फ गएको पाँच जनाको टोलीले गुर्जादेखि ढोरपाटन सिकार आरक्षमा पर्ने रुघाचौर हुँदै जलजलासम्म पदमार्गको सम्भाव्यता अध्ययन गर्नेछ”, उनले भने, “अर्को चरणमा बगरदेखि धौलागिरि आधार शिविर हुँदै मुस्ताङको टुकुचे जोड्ने पदमार्गको अध्ययन गरिनेछ ।”

मन्त्री पुनका बेनीस्थित सम्पर्क कार्यालयका प्रमुखसमेत रहेका पर्यटन अभियानकर्मी चित्र तिलिजा पुनको नेतृत्वमा रहेको टोलीमा धवलागिरि गाउँपालिका–२ का वडा सदस्य मिम पाइजा, मुदीका देउबहादुर घर्ती, हर्कबहादुर घर्ती र तीर्थबहादुर पाइजा सहभागी छन्।

संयोजक तिलिजाले पहिलो चरणमा प्रस्तावित पदमार्गमा खानेपानी, सञ्चार, आवास, पदमार्गको अवस्था, आवश्यकता पहिचान, पर्यटकीय आकर्षणको अध्ययन तथा सरोकारवालासँग छलफल गरेपछि सम्भावना भएमा बजेट व्यवस्थापन गरी योजना कार्यान्वयन गरिने बताए।

सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित र यात्रा अवधि छोटिएपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि स्थानीयवासी तथा जनप्रतिनिधिले माग गरेका थिए। धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित पदमार्ग साहासिक, प्राकृतिक र सांस्कृतिक हिसाबले सम्भावनायुक्त छ।

धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ। लुकेको गाउँका रुपमा चिनिने गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास छ।

गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजलाबाट मनमोहक दृष्यावलोकन गर्न सकिन्छ।

सडक निर्माण हुने सम्भावना नभएको र बस्तीदेखि टाढा रहेको धौलागिरि–ढोरपाटन पदमार्ग दीर्घकालीन हिसाबले सम्भावनायुक्त हुने अपेक्षा गरिएको धवलागिरि गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्तीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *