अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् ।

डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ । प्रदर्शन मात्र नभई विदेशमा प्रचारप्रसार पनि सुरू गरिएको छ । आउँदो भदौ ८ गते प्रदर्शन हुने चलचित्र ‘जय हो’ को ट्रेलर अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।

चलचित्रका अभिनेता सलोन बस्नेत, निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारी तथा स्थानीय प्रदर्शक देव कार्कीको सहभागितामा भएको कार्यक्रममा चलचित्रको बारेमा जानकारी गराइयो ।

अभिनेता बस्नेतले आफ्नो लागि यो पहिलो अनुभव रहेको बताए । उनले भने, “बजार विस्तारलाई यस्ता प्रवर्द्धनात्मक गतिविधिले सघाउने आश लिएका छौँ । यहाँ प्रदर्शन हुने भएपछि प्रचारात्मक कार्यक्रम गरेका हौँ ।”

टेक पौरखी राईले निर्देशन गरेको चलचित्रमा अभिनेता बस्नेतसँगै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *