काठमाडौं । नेपालीलाई रोजगारीका लागि थाइल्याण्ड भन्दै म्यानमार पुर्याउने चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चिनियाँ नागरिक लियाङ जुनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
एक पीडित महिलाले दिएको उजुरीपछि खोजतलासका क्रममा उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
प्रहरीकाअनुसार यसरी नेपालीलाई विदेश पुर्याएर जबर्जस्ती ठगीधन्दामा लगाउने गिरोहका उनी मुख्य योजनाकार हुन्। यो गिरोहले नेपालीलाई विदेश पुर्याएपछि बन्धक बनाएर शारीरिक तथा मानसिक यातनासहित जबर्जस्ती ठगीधन्दामा लगाएर श्रमशोषण गर्ने गरेको खुलेको छ ।
प्रहरीका अनुसार पीडित महिलालाई गिरोहले थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लगाइदिने भनेर २०७९ साउन ९ गते नेपालबाट थाइल्याण्ड लगेको थियो । त्यहाँबाट जबर्जस्ती १३ घण्टासम्म बस तथा डुंगामा चढाई म्यान्मारको यकिन नाम थाहा नभएको कम्पनीमा पुर्याएपछि उनको सक्कल राहदानी र मोबाइल खोसेर बन्धक बनाएको थियो ।
बन्धक बनाएपछि आफूलाई अवैध अनलाइन ठगीमा दिनको १८ देखि २० घण्टासम्म काम गर्न बाध्य बनाई चरम श्रम शोषणसहित शारिरीक तथा मानसिक यातना दिएको पीडित महिलाले बताएकी छन् ।
बिरामी भएर काम गर्न नसक्ने अवस्थामा समेत काममा लगाएपछि पीडित महिला नेपाल फर्किन खोजेकी थिइन् । तर उनीसँग फिरौती मागियो । गिरोहलाई फिरौती रकम बुझाएपछि पीडित महिलाले नेपाल फर्किएर प्रहरीमा जाहेरी दिएकी थिइन्।
