चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार बेलुकी भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३ रनले हराउँदै राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो । चेन्नईको लागि डेभोन कोन्वेले अर्धसतक बनाए । उनले ३८ बलमा ६ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै महेन्द्र सिंह धोनीले ३२, अजिन्के रहाणेले ३१ र रविन्द्र जडेजाले २५ रन बनाए ।

राजस्थानको लागि रविचन्द्रन आश्विन, युज्वेन्द्र चाहालले दुई-दुई विकेट लिँदा सन्दीप शर्मा र एडम जाम्पाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । राजस्थानको लागि जोस बटलरले अर्धसतक बनाए । उनले ३६ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै देभदत्त पडिकलले ३८ रन बनाउँदा रविचन्द्रन आश्विन र शिमारोन हेटमायरले समान ३०-३० रन बनाए ।

चेन्नईको लागि आकाश सिंह, तुषार देश्पाडे र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिँदा मोइन अलीले एक विकेट लिए ।

जीतसँगै ४ खेलबाट ६ अंक जोड्दै राजस्थान लिगको शीर्ष स्थानमा रहेको छ । पराजीत चेन्नई समान खेलबाट ४ अंकको साथ पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *