चीनको सिछुवानले नेपालसँगको व्यवहारिक सहयोगलाई थप प्रवर्द्धन गर्ने

काठमाडौँ । चीनको सिछुवान प्रान्तीय सरकारले नेपालसँगको आदानप्रदान र व्यवहारिक सहयोगलाई थप प्रवर्द्धन गर्ने भएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा प्रान्तीय राजधानी छन्तु पुगेको नेपाली प्रतिनिधिमण्डलसँगकाे भेटमा प्रान्तीय विदेश मामिला कार्यालयकी उपप्रमुख लिउ मिङ्गले सो कुरा बताएकी हुन् ।

विदेश मामिला कार्यालयकाे वीच्याट एकाउन्टमा चिनियाँ भाषामा अपडेट गरिएकाे सुचनाअनुसार उपप्रमुख लिउले चीन र नेपालबीचको हजारौं वर्षदेखि मैत्रीपूर्ण आदानप्रदान र दुई देशबीचको परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोग फस्टाएको बताउँदै चीन र नेपालबीचको मैत्रीपूर्ण आदानप्रदानमा सिछुवान र नेपालबीचको आदानप्रदान र सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको प्रष्ट पारिन् ।

उनले भनिन्, दुबै पक्षकाे उच्चस्तरीय भ्रमण, आर्थिक तथा व्यापारिक लगानी, शिक्षा तथा प्रशिक्षण, सांस्कृतिक पर्यटन, कृषि प्रविधि, चिकित्सा र स्वास्थ्य सेवा, विपद् रोकथाम र न्यूनीकरण तथा भगिनी सहरबीचकाे आदानप्रदान फलदायी रहेका छन् ।

आफ्नाे कार्यालयले सिछुवान र नेपालबीच विभिन्न क्षेत्रमा आदानप्रदान र व्यावहारिक सहयोगलाई अझ प्रवर्द्धन गर्ने उनले प्रतिवद्धता पनि जनाइन ।

सचिव पौड्यालले न्यानो स्वागतका लागि विदेश मामिला कार्यालयलाई धन्यवाद दिँदै दुई ठाउँबीचको आदानप्रदान र सहयोगका उपलब्धिको प्रशंसा गरे । उनले आगामी दिनमा पनि दुई पक्षबीचको सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल र सिचुआनबीचको मैत्रीपूर्ण आदानप्रदानलाई सक्रिय रूपमा सहयोग गर्ने र चीन र नेपालबीचको मित्रतालाई अझ प्रगाढ बनाउन सहयोग गर्ने पनि सचिव पाैड्यालले बताए ।

भेटमा छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे, दुबै देशका परराष्ट्र मन्त्रालय तथा प्रान्तीय विदेश मामिला कार्यालयका अधिकारीहरूको सहभागिता थियो।

राजधानी बेजिङ्गमा सम्पन्न नेपाल र चीनबीचको १५औं चरणको कूटनीतिक परामर्श संयन्त्रकाे बैठकमा सहभागी भएर सचिव पौड्यालसहितको प्रतिनिधिमण्डल सिछुवान प्रान्त पुगेको हो ।

सिछुआनमा रहँदा नेपाली प्रतिनिमण्डलले जाइन्ट पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसको भ्रमण गर्नुका साथै छन्तुस्थित नेपाली महावाणिज्य दूतावासको पनि निरीक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *