काठमाडौं । स्पिनर ललित राजवंशीले घातक बलिंङ गरेपछि आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा युएईमाथि कीर्तिमानी जीत निकाल्दै नेपालले एकदिवसीय मान्यता कायम गरेको छ । आइतबार दिउँसो भएको खेलमा युएईमाथि १ सय ७७ रनको कीर्तिमानी जीत निकाल्दै नेपालले एकदिवसीय मान्यता कायम गरेको हो ।
जीतको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै समेटियो । युएईको लागि आयन अफजल खानले २९, अश्वान्थ भाल्थापाले १ र कार्थिक मेयापानले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि ललित राजवंशीले ७.५ ओभरमा दुई मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दीपेन्द्र सिंह एरी र गुलसन झाले एक-एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपाल ४९.२ ओभरमा अलआउट हुँदै २ सय ४८ रनमा समेटिएको थियो । एक समय २२ रन जोड्दा तीन विकेट गुमाएको नेपालको इनिंस कप्तान रोहित पौडेल र भिम शार्कीले उकासेका थिए । कप्तान रोहितले १ सय १२ बल खेल्दै ९ चौकाको मद्दतमा ७७ रन बनाए । यस्तै आरिफ शेखले ५२ बकमा ५ चौकासहित ४३ रन बनाउँदा गुलसन झाले ३७, दीपेन्द्र सिंह एरीले ३४ र भिम शार्कीले २९ रनको योगदान गरे ।
युएईको लागि आयन अफजल खान, जाहोर खान, रोहण मुस्तफा र जावर फारिदले दुई-दुई विकेट लिँदा आर्यन लाक्रा र जुनाइड सिद्दिकीले एक-एक विकेट लिए ।
जीतसँगै नेपालको एकदिवसीय मान्यता पक्का बन्दा युएई भने खतरामा परेको छ । नेपाल ३४ खेलबाट ३६ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेल खेल्दै ३१ अंक जोडेको युएई छैटौं स्थानमा रहेको छ । अब भोलि हुने सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पीएनजीको सामना गर्नेछ ।