काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज हुने खेलमा घरेलु टोली नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल युएईलाई हराउँदै एकदिवसीय मान्यता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ । आजको खेलमा जीत निकाल्न सके नेपालको चार वर्षको लागि एकदिवसीय मान्यता कायम रहनेछ भने सिधै विश्वकप छनोट खेल्ने लक्ष्यपनि जीवित रहनेछ । आजको खेलमा पराजीत भएको खण्डमा नेपालले एकदिवसीय मान्यताको लागि अर्को खेलसम्म पर्खिनुपर्नेछ भने सिधै विश्वकप छनोट खेल्ने सम्भावनापनि समाप्त हुनेछ ।
नेपाल हाल ३३ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेलमा जीत निकालेको खण्डमा नेपाल चौथो स्थानमा उक्लिनेछ । नेपालले आफ्नो पछिल्लो ९ खेलमा ८ जीत निकालेको छ । युएईमा भएको पछिल्लो सिरिजमा नेपाल युएईसँग एक खेलमा पराजीत हुँदा एक खेल जितेको थियो ।
यता युएईपनि आजको खेलमा नेपाललाई हराउने लक्ष्यसाथ मैदान उत्रिनेछ । पछिल्लो समय खराब लयमा रहको युएईले आफ्नो पछिल्लो ५ खेलमा एक खेल मात्र जितेको छ । युएई पीएनजीसँग लगातार चार खेलमा पराजीत भएको हो । आजको खेलमा पराजीत भएको खण्डमा युएईको एकदिवसीय मान्यतापनि खतरामा जानेछ । हाल युएई ३३ खेलबाट ३१ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।
