राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता

काठमाडौं । निर्वाचन आायेगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि स्थापना गरेको निर्वाचन आधिकृतको कार्यलयले बुधबार नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन ।

प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन् ।

यस्तै, आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म रहेको छ। उक्त समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *