काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्र विरोधी भएको बताएका छन् ।
रुकुम पश्चिमको मुसिकोटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डल आह्वान गरिसकेको संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्र विरोधी भएको बताएका हुन् ।
उनले सरकारलाई यस्तो गल्ती नगर्न आग्रह गरे । प्रचण्डले भने, ‘बोलाइसकेको अधिवेशनलाई रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ ।’
प्रचण्डले अध्यादेश अब राष्ट्रपतिकोमा पुगिसकेकाले हेर्न बाँकी रहेको बताए । उनले लोकतान्त्रिक तरिकाले अध्यादेश ल्याउने सकिने तर अध्यादेशको विशेष अवस्थामा आवश्यकता पर्ने बताए ।
उनले भने, ‘अध्यादेश ल्याउने विधि गलत छ । संवैधानिक परिषद्मा आफ्नो पक्षमा मान्छे पार्ने उद्देश्यले ल्याइएको छ ।’ सरकारले ६ वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । तर विपक्षी दलले अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएका छन् ।
