एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । बिहीबार राति भएको खेलमा भ्यालेन्सियालाई २-० गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी घटाएको हो ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन मार्को एसेन्सियो र भिनिसियस जुनियरले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा बेन्जिमाको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५४ औं मिनेटमा बेन्जिमाकै पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा गाब्रियल पाउलिस्टा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-० गोलले विजयी भयो ।
जीतसँगै म्याड्रिड १९ खेलबाट ४५ अंक जोड्दै लिगको दोस्रो स्थानमा यथावत छ भने समान खेलबाट २० अंक जोडेको भ्यालेन्सिया १४ औं स्थानमा रहेको छ ।