काठमाडौं । बलात्कारको आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । मंगलबार भएको नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीप आज बिहीबारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश भएका हुन् ।
सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा लगाउँदै जाहेरी दिएपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।
तर, उच्च अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ ।