रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ ।

एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन । लामिछानेले भने सन् २०१४ मा अमेरिकी राहदानी लिएर सन् २०१५ मै नेपाली राहदानी पनि लिएको देखिन्छ । विदेशी राहदानी नै खारेज नभई उनले कसरी नेपाली राहदानी लिए भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो । नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् ।

तर, उनले अझै पनि २०५० सालमा जारी नागरिकताले नै काम चलाइरहेका छन् । अहिले उनको सोही नागरिकताको वैधतामाथि प्रश्न उठेको हो । लामिछानेले नागरिकता विषयमा ‘आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग लगाउँदा अदालतले टुंगो लगाइसकेको’ जनाए पनि फैसलामा भने ‘नागरिकता विषयमा कुनै कुरा उल्लेख गरेको’ पाइँदैन । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *