गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

काठमाडौं। आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको छ ।

नयाँ जनादेशअनुसार पहिले नयाँ सरकार गठन गर्नुपर्ने भएपछि गठबन्धन आबद्धलगायत दल ‘सत्ता जोडघटाउ’मा लागिसकेका छन् । जोडघटाउमा नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपति चयनसम्मका विषय जोडिएका छन् । परिणामअनुसार संसद्मा कुनै पनि दलको ‘एकल बहुमत’ नपुग्ने पक्का भएपछि बहुमतीय आधारमा सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग नयाँ राजनीतिक कोर्सबारे छलफल गरेका छन् ।

त्यसक्रममा सरकार गठनदेखि राष्ट्रपति चयनसम्मको विषयमा छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार देउवाले दुवै दलका अध्यक्षसँग नयाँ राजनीतिक कोर्स र गठबन्धनको निरन्तरताबारे छलफल गरेका छन् । ‘नयाँ राजनीतिक कोर्स, गठबन्धनलाई इन्ट्याकमै राखेर सरकार गठन र पावर सेयरिङबाटै अघि बढ्ने विषयमा छलफल भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारले भने ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेट गरेका हुन् । सो क्रममा प्रधानमन्त्री, प्रतिनिधिसभा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतमा ‘पावर सेयरिङ’ विषयमा छलफल भएको हो । यस विषयमा छलफल गर्न छिट्टै गठबन्धन बैठक बस्ने र छलफल गरेर टुंगो लगाउने तीन नेताबीच सहमति बनेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *