गठबन्धन भित्र सिट बाँडफाँट मिलाउन कहाँ–कहाँ अल्झन

काठमाडौं, भदौ ९ । सत्ता गठबन्धन दलभित्र संसदीय निर्वाचनमा सिट बाँडफाँट मिलाउन अल्झन देखिएको छ। एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ।

माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ। जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन।

‘माओवादी केन्द्र र नेकपा एसको अपेक्षा निकै ठुलो देखियो, जसले गर्दा कार्यदलमा अहिले नै सिट संख्या टुंग्याउने अवस्था देखिएन’, कार्यदलका एक सदस्यले भने। ती सदस्यका अनुसार मंगलबारको बैठकमा शीर्ष नेताहरूलाई एकल वार्ता गरेर सिट संख्या टुंग्याउन फेरि आग्रह गर्ने सहमति भएको छ। कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी परेका कारण शीर्ष नेताहरूलाई ब्रिफिङ गर्न केही ढिला हुने बताइएको छ।

छलफलका क्रममा माओवादीलगायतका दलले नेकपा एसलाई १० देखि १२ सिट मात्रै प्रस्ताव गरेका थिए। तर नेकपा एसले आफूले कम्तीमा २४ सिट पाउनुपर्ने दाबी नछाडेपछि अल्झन भएको हो। नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरूले ४० सिटमा दाबी गरेको तर बाँडफाँट गर्दा भागमा २४ सिट पर्ने बताए।

‘गठबन्धन गरेर संविधान जोगाउन हामी एमालेबाट अलग भएका हौं, यस काममा सहभागी २४ जना साथीले चुनाव लड्न पाउनुपर्छ भन्ने हाम्रो अडान छ, सायद यही बिन्दुमा गठबन्धनको सिट संख्या तोकिनेछ र गठबन्धन हुनेछ,’ खतिवडाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसपछि आफूले बढी सिट लिने, नेकपा एस, जसपा र जनमोर्चालाई कम सिट दिने नीति लिएका छन्। दाहालको रणनीति थाहा पाएपछि नेकपा एसले आफूलाई २४ सिट चाहिने अडान लिएको हो।

११ सदस्यीय सिट बाँडफाँट कार्यदलमा नेकपा एसबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डा। वेदुराम भुसाल सदस्य छन्। उनीहरूले अहिले संसद्मा जुन दलको जति सिट संख्या छ, त्यसकै आधारमा बाँडफाँट गरेर निर्वाचनमा गठबन्धन गर्दा सन्तुलित र न्यायपूर्ण हुने तर्क अघि सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *