काम एउटै कर्मचारी थरीथरी

काठमाडौं । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ ।

स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् ।

कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ । एसोसिएसनका सल्लाहकार इन्द्रप्रसाद अधिकारीले भने, “एउटै उद्देश्य प्राप्तिका लागि काम समानन्तर सेवासुविधा फरक–फरक छ । सेवासुविधामा फरक हुँदा कर्मचारीमा सेवा प्रवाहमा जोश र जाँगर नभएको, कामप्रति निराशा पैदा भएको त्यसको असर सेवा प्रवाह र विकास निर्माणमा पर्ने गरेको छ ।”

उनले कर्मचारीबीच कामका लागि उत्प्रेरणा र हौसला नभएसम्म सेवा प्रवाह र काममा गुणस्तर आउन नसक्ने भएकाले अहिले सबै स्थानीय तहमा त्यस्तै समस्या सिर्जना भएको बताए ।

उनकाअनुसार सङ्घीय निजामती सेवाबाट स्थानीय तहमा सेवाका लागि काजमा कार्यरत कर्मचारीको सेवासुविधामा कुनै समस्या छैन । उनीहरूको वर्तमान र भविष्य सुरक्षित छ तर साबिक स्थानीय निकाय हुँदै स्थानीय तहसम्म कार्यरत रहँदै आएका कर्मचारीको लामो समयदेखि बढुवा हुन सकेको छैन, केही प्रदेश सरकारले प्रदेश सेवा ऐनजारी गरी बढुवा गरे पनि प्रदेशअनुसार सेवा ऐन फरक–फरक हुँदा वृत्तिविकासमा समस्या भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *