एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए

काठमाडौं, असोज १५। नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको हो । ‘करिव १३५ स्थानमा टुंगो लगाएका छौं,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘बाँकी अध्यक्षले परामर्श गरेर टुंग्याउनुहुन्छ ।’ बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो ।

पोखरेलका अनुसार पार्टीको आन्तरिक संघर्षपछि सहमति गरेर फर्किएका कतिपय नेताहरुको क्षेत्रमै सर्वाधिक विवाद छ । सहमतिपछि फर्किएका १० नेतामध्ये गोकर्ण विष्टको क्षेत्र गुल्मी १ मा मात्रै टुंगो लागेको छ ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोबीच टिकटको लडाइँ छ । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको छ ।

एमालेले झापामा नै सबै उम्मेदवार टुंगो लगाउन सकेन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताउनुभयो ।

एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेलको सम्भावना रहेकाले टुंगो लगाइएन । एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *