सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको रिटको पनि आजै सुनुवाइ

काठमाडौं । सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ।

बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।

संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने दाबी रिटमा गरिएको छ।

रिटमा दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।

सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत, साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु संविधान विपरीत भएको रिटमा उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमा पनि शुक्रबार नै सुनुवाइ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *