पुरुषको बन्धनमा होइन, हृदयमा बास गर्न चाहन्छु : कोमल ओली

काठमाडौं । लोकगायिका कोमल ओली हिजोआज काठमाडौंमा बस्दिनन् । आफ्नो गृहनगर दाङको तुलसीपुरमा अड्डा जमाइरहेकी छन् । त्यहाँ उनी गीतिभन्दा पनि राजनीतिक गतिविधि अघि बढाइरहेकी छन् ।

नेकपा एमालेकी नेतृ एवं पूर्व सांसदको परिचय बनाएकी ओली पार्टीले टिकट दिएमा दाङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन चाहन्छिन् ।

मंगलबार विहानको एक अन्तरर्वातामा उनले भनिन् , “म धेरैजसो जिल्लामै बस्छु । चार वर्ष राष्ट्रिय सभाको सांसद भएँ । अब एकपटक प्रत्यक्ष निर्वाचित हुने इच्छा छ । पार्टीले टिकट दिने आशा पनि छ ।” जितको आधार के छ त ? ओलीले भनिन्, “म जन्मेको, हुर्केको, पढेको र सेवा गरेको ठाउँ भनेको दाङको क्षेत्र नं ३ नै हो । त्यसैले यो क्षेत्रबाट मैले सहज जित निकाल्न सक्छु ।”

राष्ट्रिय सभामा चार वर्ष सांसद हुँदा समग्रमा देशको र धेरैजसो महिलाको इस्यु उठाएको पनि उनले बताइन् । उनले भनिन्, “मैले घरेलु हिंसा र भेदभावको विरुद्धमा सशक्त आवाज उठाएँ । महिलाका मुद्दालाई प्राथमिकता दिने पार्टी पनि नेकपा एमाले नै हो ।”

आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर समृद्ध नेपाल सुखी नेपालीको एजेन्डालाई साकार बनाउनु नै उनको राजनीतिक मिसन हो । त्यसो त उनले यसपटकको तिजमा पनि दुइटा गीत बजारमा ल्याएकी छन् । त्यसमध्ये एउटा गीत घुमेर फिरी आइपुग्यो फेरि बरिलै तीजको लहरलाई उनले चुनावमा पनि प्रयोग गर्ने सोचेकी छन् ।”

के तपाईं व्रत बस्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, “ॐ नमो शिवायः । म भगवान् शिवप्रति आस्था राख्ने मानिस हुँ । म त स्वास्थ्यका लागि हप्तामा दुई दिन व्रत बस्छु । आज त झन् विशेष दिन हो । शक्ति आर्जन र तपस्याको दिन हो । म धेरै वर्षदेखि व्रत बसिरहेको छु । यसपटक पनि व्रत बस्छु । त्यसबाट ऊर्जा मिल्छ ।”

तपाईं केका लागि व्रत बस्नुहुन्छ भन्ने अर्को प्रश्नमा ओलीले भनिन्, म एउटा लक्ष्य लिएर अघि बढेको छु । देश र समाजको परिवर्तन अनि सेवामा एकाग्र हुन चाहन्छु । म हरेक हृदयमा बास पाऊँ, सत्यको बाटोमा सदैव हिँड्न सकूँ भनेर भगवान्सँग प्रार्थना गर्छु ।”

ओलीले आफ्नो ध्यान विवाहमा नभएको पनि सुनाइन् । उनले थपिन्, “मेरा निम्ति विवाह त्यति महत्त्वपूर्ण होइन । मलाई सबैले मन पराउनुपर्छ । म सर्वप्रिय छु । श्रीमान्को बन्धन त सीमित घेरा भयो । म विवाहमा ध्यानै दिएको छैन । इच्छा पनि छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *