कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर?

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै छ ।

काठमाडौं उपत्यकामा झन्डै दुई महिनासम्म फोहोर उठ्न सकेन । लामो समय नउठ्दा थुप्रिएको फोहोर उठाउन अझै पनि झन्डै दुई साता समय लाग्ने देखिएको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिन लाग्ने जनाएको छ । स्थानीयले अवरोध गरेमा वा पानी परेको खण्डमा भने अझै बढी समय लाग्ने भएको छ ।

महानगरपालिकाले काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा ८ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने जनाएको छ । पानी नआएको खण्डमा र बिनाअवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने मेयर साहको सचिवालयले जनाएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका सीडीओसहितको छलफलले एक सातापछि लिच्चड चुहाउन नहुने र त्यसको व्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिएको छ । अहिले भने फोहोर व्यवस्थापनमा खटिएका गाडीले लिच्चड चुहाउँदै गुड्ने गरेको पाइएको छ । महानगरपािलकाले अहिले लिच्चड ट्यांक भएका ७५ टिपर रहेको जनाएको छ । अब १ सय ५० वटा लिच्चड ट्यांक भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको महानगरपालिकाले जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *