बलात्कार मुद्दा लगाउने धम्की दिई रकम असुल्ने गिरोह पक्राउ

दाङ । बलात्कारको मुद्दामा फसाउने धम्की दिई व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन् ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो , उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपैयाँ लिएको उनले जानकारी दिए । उनीहरुले १ लाख नगद, २/२ लाखका दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको उनले बताए ।

पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगर समेतको सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको गौतमले बताए । गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना उनीहरुले बनाएका थिए ।

कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेको गौतमले बताए । उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *