काठमाडौं । ६९ लाख नगदसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । हुण्डी कारोबारी भएको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ का ३३ वर्षीय सुनिल कुमार साह र धनुषाको जनकपुर–३ का ३३ वर्षीय अंकित गोयन छन् ।
घण्टाघरस्थित जामे मार्केट भवनबाट उनीहरुलाई पक्राउ गरिएको हो। सुरुमा प्रहरीले माधव श्रेष्ठले सटर भाडामा लिएर सञ्चालन गरेको संजोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाएर राखेको ६० लाख रुपैयाँ बरामद गरेको थियो । काठमाडौंको कलंकीस्थित गोयनले सञ्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालबाट ९ लाख रुपैयाँ बरामद गरिएको हो ।
रकम भुक्तान गर्न आएका अंकित गोयनका कर्मचारी सुनिलकुमार पनि सोही बेला पक्राउ परेका हुन् । पक्राउ परेको रकमसहित उनीहरुलाई राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।
