चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण

काठमाडौं, साउन २८ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो ।

काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारीले चिकित्सकका लागि आठबुँदे आचारसंहिता जारी गरिएको जानकारी दिँदै भने, “पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले चिकित्सकलाई आचारसंहिताबाट अनिवार्य रूपमा बाँध्नुपर्ने देखियो ।”

उनका अनुसार चिकित्सकले सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने अवस्था आएमा काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्न पाउने व्यवस्था गरिएको छ । उनले चिकित्सकले सामाजिक सञ्जालमा कुनै पनि विषय प्रस्तुत गर्दा समस्या हुने भएकाले यस्तो प्रवृत्ति रोक्न आचारसंहिता जारी गरिएको बताए ।

काउन्सिलको सार्वजनिक सूचनामा पनि कतिपय चिकित्सकले भ्रामक टिप्पणी गरेको पाइने गरिएको छ । काउन्सिलले जारी गरेको आचारसंहितामा काउन्सिलमा दर्तावाल चिकित्सकले सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्दा तथ्यपरक तथा सान्दर्भिक विषयवस्तु मात्र राख्न पाइने व्यवस्था रहेको छ ।

पछिल्लो समय विषयविज्ञभन्दा अन्य चिकित्सकले कुनै विषयलाई सामाजिक सञ्जालमा राख्ने र त्यसलाई समाचार बनाएर भाइरल गराउने प्रवृत्ति बढेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *