निहारिकाले गरिन् पेट्रोल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं । न्याय माग्दै आमरण अनसनमा रहेकी २० वर्षीय निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको हो ।

गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि पक्राउ परेकी राजपुतले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग रहेको छ ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप रहेको छ । यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकोमा त्याे मुद्दाको पेसी सरेको सर्‍यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छिन् ।

यसअघि गएको जेठमा पनि आमरण अनशनमा बसेकी निहारिका सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोडेकी थिइन् । तर आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *