मधेस प्रदेश: सेटिङमा मौलाउँदै तस्कर

काठमाडौं। अघिल्लो बुधबार राति साढे ८ बजे माडर भन्सार नाका क्षेत्रबाट भन्सार छलेर ल्याइएको कपडाका बोराले भरिएको बिआर ०१ बिएन ४७ नम्बरको कारले सिरहा–चोहर्वा सडकखण्डमा एक साइकलयात्रीलाई ठक्कर दियो।

साइकलमा सवार सिरहा नगरपालिका–२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छोडेर चालक फरार भए। प्रहरीले कारमा बरामद गरेको अवैध कपडा ७६ हजार ६ सय र कार १५ लाख रुपैयाँसहितको मूल्यांकन गरेर भन्सारलाई बुझाएको छ।

असार २९ गते दिउँसो नेपालबाट मदिराले भरिएको १२ बोरा लोड गरी भारतको जयनगरतर्फ आइरहेको अवस्थामा प्रहरीको गाडी देखेपछि मोटरसाइकल कमला पुलनजिक छाडेर चालकहरू भागे।

साउन १० गते महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित दसगजामा भारत तस्करीका लागि भण्डारण गरेर राखिएको विभिन्न ब्रान्डको मदिरा बरामद गरियो। प्रहरीले उक्त मदिराको १८ लाख ५० हजार २३० रुपैयाँ मूल्य कायम गरी आन्तरिक राजस्व कार्यालय धनुषामा बुझायो।

असार २८ गते बिहान धनुषाको नगराइन नगरपालिका–४ स्थित जनकपुर–तुलसियाही सडक हुँदै भारततर्फ जान लागेको ज१च १२६८ नम्बरकोे पिकअप गाडी मदिराका कार्टुनले भरिएको थियो। गस्तीमा रहेको प्रहरीले गाडी रोकी जाँच गर्दा दिलवाले नामक रक्सीको ३ सय कार्टुन बरामद गरियो।

जयनगर पुलिस अधिकारीका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुप्रै मानिस र सवारीसाधन नियन्त्रणमा छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेध गरेको छ।

जसका कारण नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा मदिरा तस्करी हुँदै आएको छ। भारतसँग सीमा जोडिएका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सप्तरी र सिरहाका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रूपमा फैलिँदै गएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *