काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गर्ने चार जनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ घर भएका नवराज ढुंगाना, बालाजुमा शिव सर्भिस मल्पिर्पोज प्रालि सञ्चालन गर्दै आएका फणिन्द्रप्रसाद ढुंगाना, हाल जापान बस्दै आएका प्रज्वल ढुंगाना र बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका ३६ म्हैपी बस्ने सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वित्त बालाजुको संयुक्त टोलीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।
ढुंगानासँग बरामद भएको रकमबारे थप अनुसन्धान गर्दा उक्त रकम अवैध हुन्डी कारोबारबाट आएको भेटिएको विभागले जनाएको छ । ढुंगानाबाट बरामद भएको रकमबारे अनुसन्धान गर्दै जाँदा अरु तीनजना पनि त्यसमा संलग्न देखिएका हुन् । उनीहरु चारै जनालाई ६९ लाख ९९ हजार बिगो र सोही बराबर जरिवाना माग दाबी गरिएको छ ।