पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौं । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो ।

संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका लागि ‘अभियान फाँट’ तोकिएको छ । सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैधानिक इजलास लाग्ने बाहेकका दिनमा अभियान फाँटका मुद्दाका लागि इजलास गठन भएको बताए।

बुधबार साप्ताहिक पेसी सूचीमा रहेका मुद्दा र शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेस हुने निवेदनका लागि संवैधानिक इजलास गठन हुने गरेको छ । प्रवक्ता पौडेलका अनुसार अहिले प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्नुपर्ने मुद्दाको सङ्ख्या न्यून छ । जसकारण साप्ताहिक रूपमा बुधबार मात्र नियमित रूपमा इजलास गठन भइरहेको छ ।

सर्वोच्चका अनुसार अहिले पाँच वर्षभन्दा पुनारा मुद्दाको सङ्ख्या चार हजार ८०२ थान छ । अभियान फाँटमा विचाराधीन मुद्दाको यो विवरण साउन १९ गतेसम्मको हो । चार हजार ८५४ मुद्दा बाँकी रहेकोमा साउन १९ सम्म ५२ थान मुद्दा फस्र्योट भएका छन् । यस्तै, दुई वर्षभन्दा बढी समयका पुराना मुद्दाको सङ्ख्या १७ हजार ३१७ छ । कुल लगतमा फुटकर निवेदन ५४१ र थुनुवा रहेका मुद्दा एक हजार ६९९ रहेका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *