आयात प्रतिबन्धले घट्यो राजस्व

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन ।

अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । लक्ष्यको तुलनामा ३७ अर्ब १४ करोड रुपैयाँ कम हो ।

भन्सार महसुलअन्तर्गत आयातबापत सरकारले एक खर्ब ८७ अर्ब ३१ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा २६ अर्ब ४८ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षमा सरकारले आयातबाट दुई खर्ब १३ अर्ब ७९ करोड रुपैयाँ भन्सार महसुलको लक्ष्य राखेको थियो ।

गत वैशाख १४ गते सरकारले विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसलाई भदौ १४ गतेसम्म कायम हुने गरी साउनदेखि संशोधनसहित निरन्तरता दिइएको छ ।

यसअनुसार १५० सीसीभन्दा माथिका मोटरसाइकल, तीन सय डलरमाथिका मोबाइल, कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयातमा प्रतिबन्ध लगाइएको छ ।

गत आर्थिक वर्षमा आयातमा लगाइने अन्तःशुल्कको लक्ष्य पनि पूरा भएको छैन । तर आयातित वस्तुमा लाग्ने मूल्य अभिवृद्धि करको लक्ष्य भने सरकारले पूरा गरेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *