‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा रुपन्देहीको तिलोत्तमाबाट १५० युवायुवती पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईबाट प्रहरीले १५० भन्दा बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ । कार्यालय संचालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। अहिले मुचुल्का गर्ने काम भई रहेको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

कार्यालय संचालक भारतीय नगरिकको घर कोठा खानतलासी हुँदै गरेको र त्यसपछि थप खुल्ने उनले बताए । यसका साथै उनीहरुले चिनियाँ एप्लिकेसनको प्रयोग गरी भारतीय नागरिकहरुलाई ऋण प्रवाह गरि मिटर ब्याजमा रकम उठाउने कार्य समेत गरेको पाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *