काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा नामिबियाले नेपाललाई मध्यम विजयी लक्ष्य दिएको छ । अयरमा जारी खेलमा नामिबियाले नेपाललाई जीतको लागि २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नामिबिया ४७.३ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो । नामिबियाको लागि निकोल लोफ्टी-एटोनले अर्धसतक पूरा गरे । उनले ६९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाए । डिभान ला कुकले ३२ बलमा ७ चौकाको मद्दतमा ४१ रन बनाउँदा गेर्हार्ड इरास्मुसले २२, लोहार्डे लोउवेर्न्स र डेभिड विसल १८/१८ र जेजे स्मिटले १७ रनको योगदान गरे ।
नेपालको लागि सन्दीप लमिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन दिएर २ विकेट लिँदा करण केसी, बासिर अहमेद र दीपेन्द्र सिंह एरीले एक/एक विकेट लिए । दोस्रो इनिङ्स केहिबेरमा शुरु हुनेछ ।