बजेटमा त्रुटि भएको भन्दै एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठकमा अवरोध

पोखरा । बजेटमा त्रुटि भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । एमाले सांसद रामशरण बस्नेतले बजेटका स्रोतको १२ प्रतिशत मात्रै ऋण लिन सकिने व्यवस्था विपरीत धेरै ऋण लिने प्रदेश सरकारको बजेट संवैधानिक हिसाबमै त्रुटिपूर्ण रहेको बताए ।

असार एक गते अर्थमन्त्री रामजी बरालले ल्याएको बजेटमाथि २१ गतेबाट मात्रै छलफल सुरु भएको थियो । तर, छलफल जारी हुँदा शुक्रबारको बैठकमा एमाले सांसदहरुले बजेटमा त्रुटि रहेको बताएका हुन् । प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । त्यसमा २ अर्ब रुपैयाँ ऋण लिने भनेर स्रोतको व्यवस्था गरिएको छ ।

तर, एमाले सांसद बस्नेतले १४ अर्ब ३३ करोड राजस्वको स्रोतको १२ प्रतिशतमात्रै ऋण लिने व्यवस्था गर्नुपर्नेमा बढी गरिएको जानकारी दिए । उनले त्रुटि भएसम्मको हदमा बजेटको अंक घटाउनुपर्ने र योजनाहरु कटौती गर्नुपर्ने भन्दै त्यो नहुँदासम्म संसद चल्न नदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *