माओवादीले आज पदाधिकारीको टुंगो लगाउने

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को को बैठक आज बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित गरिएको थियो ।

पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । मङ्गलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए । आजको बैठकमा प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने तयारी रहेको छ । स्रोतका अनुसार बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने छ ।

केन्द्रीय समितिको बैठक अहिले विहान ११ बजे बस्ने छ । माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *