मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

सप्तरी । धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी बुधबार पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।

मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।

पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए ।

मिटरब्याजी रामदेवबाट १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडितका अनुसार १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख असुलेर यौनशोषणसमेत गरेका छन् ।

पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन् । रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कठ्ठा, कित्ता नम्बर ४३ को सात कठ्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कठ्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताए ।

पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए । घर नजिकै जग्गा किन्ने विषयमा श्रीमानले सहमति दिएपछि साहुकार रामदेवसँग १० लाख ऋण लिएर पीडितले सात कठ्ठा ११ धुर जग्गा किनेका थिए । नयाँ किनेको जमिनसहित उहाँको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताइन् । ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले १० लाखको ३२ लाख असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताइन् । ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताएकी छन् ।

न्यायका लागि गत मङ्सिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताइन् । उनले मङ्सिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएकी थिइन् ।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो । न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो ।

गृहमन्त्रालायको निर्देशनपछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न नौ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको जनाएको छ  । सप्तरीमा मिटरब्याजीबाट पीडित क्रमशः सार्वजनिक हुँदै गएको कारबाहीको उजुरी थपिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *