विनोद चौधरीलाई प्रचण्डको क्षेत्रबाट चुनाव लड्न प्रस्ताव

काठमाडौं, असार १४। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न् सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताइसकेका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी सरकारले तयारी अगाडि बढाइसकेको छ । नवलपुर–२ बाट चुनाव लड्ने उनको तयारी छ । तर, पार्टीको निर्णयअनुसार आफू जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको चौधरीले बताएपछि उनलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्नका लागि प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्वर थापाले ललितपुर क्षेत्र न ३ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।त्यस्तै, महोत्तरी जिल्लाको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले नेता चौधरीलाई महोत्तरी क्षेत्र नं १ बाट चुनाव लड्न आग्रह गरेका छन् ।

बाँकेका शरद रेग्मीले बाँके–३ बाट चुनाव लड्न आग्रह गरेका छन् भने खिमराज ओलीले रुकुम पश्चिमबाट चुनाव लड्न चौधरीलाई आग्रह गरेका छन् । त्यस्तै, उनलाई सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न स्थानीयले आह्वान गरेका छन् । धादिङका गिरिराज कडुवालले धादिङ–२ बाट निर्वाचन लड्न आग्रह गरेका छन् । पाल्पा, भोजपुर, म्याग्दी, दोलखा, सुनसरी, रुपन्देहीलगायतका जिल्लाबाट चुनाव लड्न पनि आग्रह गरिएको छ । नवलपुरका दुबै क्षेत्रबाट चुनाव लड्न सुझाव दिने स्थानीयको संख्या पनि उल्लेख्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *