ट्यांकर सेवा एक सातादेखि ठप्प, उपत्यकावासी मर्कामा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) व्यवस्थापनले इन्धनको रकम चुक्ता गर्न नसक्दा खानेपानी वितरण सेवा प्रभावित बनेको छ। असार १ गतेदेखि केयुकेएलका ट्यांकर चालकहरूले इन्धन नभएकोकारण सेवा दिन नसक्ने सूचना समेत निकालेका छन्।

केयुकेएलको ट्यांकरको पानीमै निर्भर हुने अधिकांश उपत्यकाबासीहरू एक सातादेखि पानी वितरण नहुँदा जनजीवन नै कठिन हुने अवस्था आउन सक्ने बताउँछन्।

केयुकेएलकै पानी ट्यांकरमा निर्भर भएको र हाल एक सातादेखि पटकपटक फोन गर्दा पनि इन्धन नभएकाले पानी नल्याउने जवाफ केयु पाएको कालिमाटिकी गिता शाक्यले सुनाइन्।

‘हाम्रो घरको धारामा पानी नआएको कयौं दिन भइसक्यो,’ उनले गुनासो गरिन्, ‘केयुकेएलको पानीकै भरमा हामी छौं। सस्तो र गुणस्तरीय पानी भएकोले हामी केयुकेएलकै पानी किनेर खाने गरेका छौं। तर एक सातादेखि ट्यांकरले पानी ल्याइदिएको छैन। यसले हाम्रो दैनिक जनजिवनै प्रभावित बनेको छ।’

ट्यांकर शाखा प्रमुख शंकर थापाले १३ वटा ट्यांकरबाट दैनिक ८०–९० ट्रिप पानी उपत्यकावासीलाई वितरण गरिँदै आएको र असार १ देखि इन्धन नभएको कारण सेवा प्रभावित बनेको जनाए। उनले शाखाले समस्याबारे लिखित जानकारी केयुकेलको केन्द्रीय कार्यालयमा गराइसकेको समेत बताए।

उनले साझाले इन्धन दिन नमानेपछि सेवा प्रभावित बनेको जनाए। केयुकेएलले साझाको तिर्नुपर्ने पहिल्यैको बाँकी २० लाख रकम तिर्न सकेको छैन भने हाल बढेको इन्धनको मूल्यको रकमसमेत तिरेको छैन। एउटा ट्यांकरमा ७ देखि ९ हजार लिटर पानी हुन्छ। केयुकेएलका उपत्यकाका तिनै जिल्लाहरूमा पानी वितरण गर्छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *