मङ्सिरमा छिटो, जेठमा ढिलो !

काठमाडौं। मध्याह्नको चर्को घाम, सिंहदरबारको गेटमा भीडभाड छ । झापाको शिवसताक्षी नगरपालिका–६, धौलेचोकका ७१ वर्षीय लक्ष्मीप्रसाद भण्डारी पुरानो झोला र हातमा केही कागजपत्र बोकेर सिंहदरबारको दक्षिण गेटमा आफ्नो पालो पर्खिरहेका छन् । उनले सिंहदरबार प्रवेशका लागि घण्टौँ प्रतीक्षा गरेर ‘भित्रको आदेश’ आएपछि मात्र हातका कागजात समेट्दै मन्त्रालयतिर प्रवेश पाए ।

यो उजको यति बेलाको दिनचर्या होइन । गत मङ्सिरमै उजले यसैगरी अर्थ मन्त्रालय धाएका थिए । त्यस बेला उनलाई अर्थ मन्त्रालयका अधिकारीले चाँडो आएकाले काम हुन नसक्ने जवाफ दिएका थिए । उनीहरूको सुझावअनुसार उनी असारमा फेरि अर्थ मन्त्रालय धाउँदा उनलाई जवाफ दिइयो, “अब आउन ढिला भयो ।” शिवसताक्षी–६ का ६० घर कृषकका दुई थरी समस्या लिएर उनी काठमाडौँ आएका थिए ।

झिलझिले भनिने मकरडुब्बा खोला र कनकाई नहरको पानी उर्लिएर आएपछि उनीसहित ६० परिवारको बस्ती जोखिममा छ । बाढीको कहर बर्सेनि झेल्ने भण्डारी गत वर्ष असोजमा आएको बाढीले धानखेती नष्ट गरेकाले उनी सरकारबाट राहत पाउने अपेक्षासहित गत जेठ २९ गते काठमाडौँ आएका थिए ।

उनले भने, “२०७८ मङ्सिरमै आएको थिएँ । बजेट जेठमा बन्छ । त्यति बेला आउनू भनेर मन्त्रालयका कर्मचारीले फिर्ता पठाउनुभयो । बजेट आएपछि बजेट पाइएला भनेर आएको, यस पटक ढिला भयो अर्को वर्ष आउनू भन्ने जवाफ पाएँ ।”

अर्थ मन्त्रालयले बजेट नदिने बताइसकेपछि पनि उनले हार मानेका छैनन्। उनी जलस्रोत, सिँचाइ हुँदै फेरि अर्थ मन्त्रालय धाइरहेका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *