स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिअनुसार अगाडि बढेको छ । स्थानीय तहमा पार्टीमा निर्वाचित जनप्रतिनिधिलाई परिचालन गरेर पार्टीको रणनीति पूरा गर्ने तयारी माओवादीले गरेको छ ।

पार्टीको रणनीति, उद्देश्य, घोषणापत्र कार्यान्वयनलगायतका विषयमा माओवादीले प्रशिक्षण दिएर आफ्ना जनप्रतिनिधिलाई पालिकामा परिचालन गर्न लागेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले पार्टीको तर्फबाट विजयी प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको बताए ।

बुधबार र बिहीबार काठमाडौंको कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण दिइँदै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण कार्यक्रमको उद्घाट तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा पालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षका साथै केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।

प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।

यस्तै, पार्टीका शीर्ष नेता एवं संघीयताविज्ञ, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।

उद्घाटनसत्रमै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रपछि पहिलो दिन ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनेछन् ।

‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, ‘संघीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा। खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *